काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो रहेको बताएका छन् ।
२३ औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना दिँदै उनले नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट रहेको बताएका हुन् ।
‘नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ। साथै, कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्नेसम्बन्धी नीति पनि संविधानमा व्यवस्था छ।’ शुभकामना सन्देशमा भनिएको छ,‘नेपाल कृषिप्रधान देश हो। यहाँका अधिकांश जनता कृषिमै निर्भर छन्। हाम्रो प्रमुख खाद्यान्न बाली धान भएकाले यसको हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक एवम् धार्मिक महत्त्व पनि रहेको छ। नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट छ। हिलोसँग खेल्दै खेतभित्र छुपुछुपु धान रोप्ने र दही, चिउरा, अचारलगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने भएकाले असार पन्ध्रलाई दहीचिउरा खाने दिन पनि भनिन्छ।’
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले धान खेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई हाम्रो मागअनुसारको धान उत्पादन एवम् उत्पादकत्व बढाउनुपर्ने आजको आवश्यकता रहेको बताए।
उनले जीवन धान्नका लागि मात्र कृषि पेसा मात्र नभई अब व्यावसायिक कृषितर्फ राष्ट्रपति पौडेलले आह्वान गरे।
‘नेपालको धान खेती वर्षामा निर्भर छ। वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धान खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु। ’उनले भने, ‘जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य भएका जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवम् चामल आयात न्यूनीकरण गर्न सकिन्छ। श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो छ। जीवन धान्नका लागि मात्र कृषि पेसा होइन, अब व्यावसायिक कृषितर्फ लाग्न म सबैलाई आह्वान गर्दछु। यसका लागि सम्बन्धित निकायले त्यसतर्फ ध्यान देओस् भन्ने चाहन्छु।’