काठमाडौँ – नेपाल पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सकिएकाे छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आजको मतदान भव्य र सभ्यरुपमा सम्पन्न भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष आचार्यले निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मतदान भएको बताएका छन् । ‘निर्वाचनमा ९० प्रतिशतभन्दा बढी सदस्यले मतदान गर्नुभएको छ ।’ अध्यक्ष आचार्यले सञ्जालमा उल्लेख गरेका छन् ।
उनले मतदान सम्पन्न गर्न लागि पर्ने सबैमा हार्दिक आभार व्यक्त गरेका छन् । उनले भनेका छन् ‘मतदान सम्पन्न गर्न अहोरात्र खट्ने केन्द्र, प्रदेश र शाखाका निर्वाचन समिति, सुरक्षाकर्मीसहित आम पत्रकार साथीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।’
साथै उनले अब मत गणना सुरु भएको जानकारी दिँदै त्यसलाई व्यवस्थितरुपमा सम्पन्न गर्न सबैको साथ र सहयोगका लागि अनुरोध गरेका छन् ।