काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ जना अफगान नागरिकहरू पक्राउ परेका छन् । अवैध रूपमा नेपाल आएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ३ जना महिला र ८ जना पुरूष छन् । जसमध्ये एकै परिवारका ५ जना छन् भने बाँकी छुट्टाछुट्टै छन् । उनहिरुलाई सिनामंगलको एक होटलबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले केही दिनअघि मात्रै काठमाडौ आएको बताए पनि स्थानीयले भने उनीहरू २५–३० दिनदेखि नै बसिरहेको बताएको प्रहरीले बताए ।
अफगान नागरिकहरू काठमाडौंमा आएको भन्ने सूचना पाएपछि ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो । अहिले ब्युरोले उनीहरूमाथि सोधपुछ गरिरहेको छ ।
अफगानिस्तानमा तालिबान सत्तामा आएसँगै धेरै नागरिकले त्रासमा देश छाडेका थिए । उनीहरू पनि तालिबान आएपछि भागेर नेपाल आएको आशंका गरिएको छ ।