काठमाडौं : सम्पादक समाज नेपालको आज बसेको बैठकले समाजका संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरेको गोविन्द वियोगी पत्रकारिता पुरस्कार यस वर्षका लागि हिमालय टेलिभिजनका समाचार प्रमुख एवं यक्ष प्रश्नका सञ्चालक राजेन्द्र वानियाँलाई प्रदान गर्ने निर्णय गरेको छ।
यसैगरी बैठकले गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्पादक विष्णुप्रसाद नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ। सम्पादक समाजद्वारा प्रदान गरिने यी पुरस्कारको राशि क्रमशः २५ हजार १ र १५ हजार १ रूपैयाँ रहेको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सम्पादक समाज नेपालले पत्रकारितामा लामो योगदान पुर्याउने वरिष्ठ पत्रकारहरूलाई सम्मान गर्दै आउने क्रममा यस वर्षका लागि सम्पादक समाज सम्मान वरिष्ठ पत्रकारद्वय मल्ल के सुन्दर, पुरुषोत्तम दाहाल र रेडियो पत्रकारितामा लामो योगदान पुर्याउने सञ्चारकर्मी कृष्णा ताम्राकारलाई प्रदान गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको आकस्मिक निधनपश्चात विसं २०६२ सालमा यी पुरस्कार समाजले स्थापना गरेको थियो। यी पुरस्कार र सम्मान हरेक वर्ष गोविन्द वियोगी स्मृति दिवसका अवसरमा माघ पहिलो साता प्रदान गरिँदै आएकोमा कोभिड–१९ का कारण गत वर्ष पुरस्कार र सम्मान कार्यक्रम स्थगन गरिएको थियो।
यस वर्ष पनि पुसको आधाआधीबाटै कोभिड–१९ को तेस्रो लहर प्रारम्भ भएकाले निर्धारित मिति परिवर्तन गरि संक्रमण घटेपछि र जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रणका लागि जारी गरेको आदेश फिर्ता भएपछि पुरस्कार एवं सम्मान कार्यक्रम गर्ने निर्णय सम्पादक समाजले गरेको विज्ञप्तिमा उल्लेख छ।
समाजले यस वर्षको कार्यक्रम शिवपुरी–७, सूर्यचौरमा निर्माणाधीन आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको सभाकक्षमा आयोजना गर्ने जनाएको छ। समाजले भवन निर्माणमा अवरोध नआएमा संस्थापक अध्यक्ष वियोगीको अर्ध कदको सालिक सहितको भवनको उद्घाटन, पुरस्कार एवं सम्मान कार्यक्रम एकै दिन गर्ने समेत निर्णय गरेको जनाएको छ।