दमक । झापाको दोमुखामा गएराति भिषण आगलागी हुँदा दुई जना जलेर गम्भीर घाइते भएका छन् । आगलागिमा परी शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४ वर्षीय छोरी अस्मिता जलेर घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइते भएका उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । बिहीबार राति ११ बजे आगो सल्किएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रहरीका अनुसार आगलागीबाट दोमुखाका चार वटा होटल र एउटा दोमुखा युवा क्लबको कार्यालय पनि जलेर नष्ट भएको छ । स्थानीय हरी भण्डारी, डम्बर मगर, किशोर लिम्बु र जय थपलिया पलियाको होटलमा आगलागी भएको हो ।
दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले निर्माण गरेका ती भवन होटलका लागि बहालमा लगाएको थियो । होटलका सबै सामग्री जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।