काठमाडौँ — सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ नायव निरीक्षणसम्मका दर्जाको पेन्सन (निवृतिभरण) पाउने अवधि घटाउने भएको छ । प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार गृह मन्त्रालयले नियमावली संशोधन गरी हाल कायम रहेको पेन्सन अवधि २० वर्षबाट घटाएर दर्जाअनुसार १६ वर्षदेखि १८ वर्षसम्म कायम रहने प्रस्ताव गरेको हो ।
प्रहरी (एघारौं संशोधन) नियमावली, २०७८ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७८ को मस्यौदामा सहायक निरीक्षक (असई), नायव निरीक्षक (सई) र वरिष्ठ प्रहरी नायव निरीक्षकले १८ वर्ष सेवाअवधि पूरा गरेमा पेन्सनमा अवकाश लिनसक्ने प्रावधान राखिएको छ ।
त्यस्तै, प्रहरी कार्यालय सहयोगी, प्रहरी जवान, सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दारले १६ वर्षमै पेन्सनमा जान पाउने प्रस्ताव गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयबाट यससम्बन्धि सैद्धान्तिक सहमति पाए गृह मन्त्रालयको दुवै प्रहरीको नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिनेछ ।
प्रहरी निरीक्षकदेखि माथिका सबै दर्जाको लागि भने २० वर्ष अवधि पुगेपछि मात्रै पेन्सन पाउने अहिलेको व्यवस्थालाई नै निरन्तरता दिन प्रस्ताव गरिएको छ ।
२०६० चैत २६ भन्दा अगाडि सेवा प्रवेश गर्दा अहिले गरिएको प्रस्ताव अनुसारकै प्रावधान थियो । त्यसपछि सेवा प्रवेश गरेका कार्यालय सहयोगीदेखि माथि सबै तहका प्रहरी कर्मचारीको पेन्सन अवधि २० वर्ष पूरा हुनुपर्ने व्यवस्था समेटिएको थियो ।