November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

यस उपन्यास लेख्दा साथीहरूसँग बसेर चिया पिउन भुलेँः कविता राई

काठमाडौं । साहित्यकार कविता राईको उपन्यास ‘गुरू’ पाठकमाझ पुगेको छ । उपन्यास गुरुको गत बुधबार काठमाडौको कमालादीस्तिथ नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरि समालोचक ज्ञानु अधिकारी, साहित्यकार हरिप्रसाद सिलवाल, कवि शशी लुमुम्बु, राष्ट्रिय सभा सदस्य जयन्ती राईलगायतद्धारा लोकार्पण गरिएको थियो ।

लोकार्पण कार्यक्रममा बोल्दै समालोचक ज्ञानु अधिकारीले उपन्यासले अहिलेसम्म उठान नगरिएको विषय मार्मिक र रोचक ढंगले उठान गरेको उल्लेख गरिन् । उपन्यासभित्र एक शिक्षकको कथामा पुरुष मनोविज्ञान समेटिएको र उपन्यासलाई मानव जीवन तथा समकालीन सबै घटनाहरुको संग्रहका रुपमा लिन सकिने पनि बताइन् ।

त्यस्तै, उपन्यासबारे बोल्दै साहित्यकार हरिप्रसाद सिलवालले गुरू नेपाली साहित्यिक क्षेत्रमा बेग्लै स्थान हासिल गर्न सक्ने उपन्यास हुने बताए ।

Advertisement

लेखक राईले ‘गुरू’ लेख्ने क्रममा आफू रमाउन र हाँस्नै भुलेको बताइन् । उनले भनिन्, ‘यो उपन्यास लेख्दा साथीहरूसँग बसेर चिया पिउन भुलेँ, गीत गनगुनाउँथेँ, त्यो पनि भुलेँ, समग्रमा त झनै हाँस्नै भुलेछु । हामी लेखकहरुलाई लेखक मात्रै हुने छुट नहुँदो रहेछ ।’

२०७८ सालको राष्ट्रिय कविता विजेता समेत रहेकी राईको यसअघि ‘आमा र जून’ कवितासंग्रह कविता सङ्ग्रह प्रकाशन भइसकेको छ । राई पेशाले शिक्षक हुन् ।