पोखरा । स्थानीय तह निर्वाचन २०७९ मा म्यादी प्रहरी भई काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिए ।
उनले भने, “सीपमूलक तालिम र रोजगारी/स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।” उकने अनुसार शुक्रबार (सिटिइभिटी)गण्डकी प्रदेश कार्यालय पोखराले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा तत्काल बजारको मागअनुसार विभिन्न किसिमका छोटो अवधिको तालिमको सुरुआत गरेको हो ।
म्यादी प्रहरीको लागि सञ्चालन गरिएको तालिममा हाललाई जुनियर विल्डिङ इलेक्ट्रीसियन, प्लम्बर र किचन सहयोगी (कुक) तालिम सञ्चालन गरिएको छ भने बाँकी तालिम आगामी दिनमा क्रमशः सञ्चालन गरिँदै जाने आचार्यले बताए । तालिम आवश्यकताका आधारमा १४० घण्टा (२७ कार्यदिन) को पाठ्यक्रम तयार गरी सञ्चालन गरिनेछ ।