पाँचथर । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष धर्मेन्द्र झा प्रेस स्वतन्त्रता सेनानी सम्मान–२०७८ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ पाँचथरले वर्षेनि प्रदान गर्दै आएको सम्मानबाट यस वर्ष झा सम्मानित भएका हुन् ।
शनिबार पाँचथरको फिदिममा आयोजना गरेको सम्मान तथा पुरस्कार अर्पण समारोहमा अध्यक्ष झालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मानपत्र, दोसल्ला तथा नगर पुरस्कार सहित सम्मान गरे । उक्त सम्मान पुरस्कारको राशी रु ३३ हजार ३३३ रहेको छ ।
राससका अध्यक्ष समेत रहेका झाले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पु¥याएको योगदानको कदर गर्दै शाखाले उक्त सम्मान प्रदान गरेको शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।
सम्मानपछि बोल्दै अध्यक्ष झाले उक्त सम्मानले आफूलाई पुनः जिम्मेवारीबोध गराएको बताए । पत्रकारले प्राप्त गर्ने सबै सम्मान तथा पुरस्कारले पेशामा आवद्ध भई समाजको हितमा काम गरिरहन थप उर्जा, हौसला र प्रेरणा प्राप्त हुने वताउँदै अध्यक्ष झाले उक्त सम्मानले आफ्ना लागि ठूलो महत्व राख्ने बताए ।
पत्रकारहरुले समाजको हितका लागि कार्य गर्ने भएकाले समाजले पत्रकारको सुरक्षा गर्नुपर्ने वताउँदै अध्यक्ष झाले पत्रकारहरु आचारसंहिता र स्वअनुशासनमा रहनु अपरिहा¥य रहेको बताए । पत्रकारितालाई थप विश्वासनीय र मर्यादित वनाउँदै खवरदारी गर्ने मुख्य जिम्मवारी पूरा गर्न निरन्तर लागिरहनु आवश्यक रहेको अध्यक्ष झाको भनाई थियो ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व सभापति लवदेव ढुङ्गानालाई दोश्रो जनआन्दोलनका क्रममा गैरकानूनी थुनामा राखिएको भन्दै जिल्ला अदालतले क्षतिपूर्ति दिन आदेश दिएको थियो । ढुङ्गानाले ५१ दिन गैरकानूनी थुनामा रहेवापत प्राप्त गरेको ३० हजारबाट उक्त पुरस्कार स्थापनाको सुरुआत भएको थियो ।
२०६९ सालमा स्थापित पुरस्कार २०७२ सालबाट वितरण सुरु भएको हो । उक्त पुरस्कारबाट यसअघि बरिष्ठ पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाल, किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले र डा. महेन्द्र बिष्ट सम्मानित भइसकेका छन् ।