काठमाडौं । अपमानित रूपमा दलित समुदायका व्यक्तिका नागरिकताको नाम राखिएको भन्दै सांसद दुर्गाकुमारी विश्वकर्माले ती नाम सच्याउनका लागि सरकारसँग माग गरेकी छन् । सांसद विश्वकर्माले तत्काल गृह मन्त्रालयलाई ती नाम सच्याउने व्यवस्था गर्न माग गरेकी हुन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद विश्वकर्माले भनिन्, ‘कुनै पनि व्यक्तिको नाम लेख्दा, विशेष गरी दलित समुयादको खोप कार्डमा हेर्दा, नागरिकता, मतदाता नामावली, राष्ट्रिय परिचयपत्रमा हेर्दा; उहाँहरूको नाम कसरी लेखियो ? म दंग परेको छु । यो गम्भीर विषय छ र यसमा सरकारले ध्यानाकर्षण गर्नुपर्छ ।’
पछिल्लो समय सामाजिक संजालमा केहि दलित समुदायका नागरिकताको नामहरु भाइरल भएका छन् । कुकुर्नी कमिनी, फ्याउरो बादी, सिँगाने कामी, कुत्ता बादी, कुकुर कामी, रातो कामी, नौपुठे कामी, ढाले कामी, काली गासे, गोप्लो, लाटो, लुखुरी कामीलगायत नामहरु सार्वजनिक भएपछि त्यसको विरोध भइरहेको छ ।
सांसद विश्वकर्माले तुरुन्तै ती नामहरु सच्याउन सम्बन्धित जिल्लालाई निर्देशन दिनुपर्ने माग गर्दै भनिन्‚ ‘यस्ता खालका नाम लेख्ने कर्मचारी कस्तो बेहोस अवस्थामा जानुभएको थियो ? यो विशेष गरी रुकुम र दैलेखमा देखिएको छ । तुरुन्त नेपाल सरकार र विशेष गरेर गृह मन्त्रालयले सम्बन्धित जिल्लामा ती व्यक्तिहरूको नाम सच्याउने व्यवस्था गरोस् ।’
नागरिकतालागयत सरकारी परिचयपत्रमा कसरी व्यवस्थापन गर्ने हो त्यो गर्नका लागि सांसद विश्वकर्माले सरकारलाई आग्रह गरेकी छन् ।