July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको यात्रुबाहक बस सोमबार वडा कार्यालय नजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस आफैं अनियन्त्रित भएर सडकमा पल्टिएको उनले जानकारी दिए। पाण्डेका अनुसार बसले एक ट्याक्सीलाई समेत ठक्कर दिएकर सामान्य क्षति भएको छ।

Advertisement

बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरी अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए। साँझ ६ बजे घाइतेको अवस्था बुझ्न डा इवामुरा मेमोरियल अस्पताल पुगेका वडाध्यक्ष बस्नेतले घाइते १४ जनामध्ये एक जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा र चार जनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

घाइतेमध्ये इवामुरा अस्पतालबाट पाँच जना र मध्यपुर अस्पतालबाट चार जनाको उपचारपछि घर पठाइएको छ। घाइतेको अवस्था गम्भीर नरहेको चिकित्सकले जानकारी दिएको बस्नेतले बताए।