काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई विभिन्न झुठा आश्वासन देखाएर जनताको पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो आक्रोस व्यक्त गरेका हुन् ।
लामिछानेले देश चरम राजनीतिक अवस्थामा जेलिएको बताउदै पछिल्ला दिनहरुमा राजनीतिक अस्थिरताको कारण डाक्टरले बिरामी जाँच गर्दा पनि कुन दल वा पार्टिको हो भनेर जाच गर्ने दिन आउन सक्ने बताए । सानो काम देखि ठुलो काम राजनितिक दलको आडमा मात्र गर्न सकिने उनको गुनासो थियो ।
यस्तै, लामिछानेले मकवानपुरमा सुरुङ मार्गको झूटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारखाना बन्द गर्नेहरुका खाता खोलेर हिसाब निकाल्ने समय आएको पनि बताए । ‘राम्रो कपडा बन्ने हेटौंडा कपडा उद्योग कसले बन्द गर्यो ?’, उनले प्रश्न गरे ।
उनले राम्रो लुगा लगाउँछु भन्दा बजार भर खोज्दा पनि नपाइने स्थिति बनेको र त्यसको हिसाब आफुहरुले गरेरै छोड्ने पनि बताए । ‘हेटौंडा कपडा उद्योग जहाँ ११ सयभन्दा बढी मानिसहरुले रोजगारी गर्थे, तिनका परिवार आम्दानी गर्थे, परिवार चलेको थियो । उनले भने, ‘आफूले बनाउनु त कहाँ हो कहाँ अर्काले बनाइदिएको उद्योग पनि चलाउन नसकेर बन्द गरिदिए । त्यसको हिसाब खोज्न म हेटौंडामा उभिएको छु ।’
यस्तै, हेटौंडा सिमेन्ट उद्योग पनि बन्द हुने अवस्थामा पुगेको बताए । हेटौंडामै भएको निजी सिमेन्ट उद्योगहरु नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौं घाटामा जानुपर्ने कारणको खोजी गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताए । लामिछानेले त्यसको हिसाब अब आफुहरुले सिंहदरबार प्रवेश गरेपछि मात्र माग्न सक्ने भएकाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्याउन अनुरोध समेत गरे ।