झापा । झापाको भद्रपुर नगरपालिका–४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाई मृत्यु भएको हो ।
हिजो अपरान्ह साढे ४ बजे पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट प्रहरी टोली खटेर स्थानियहरु समेतको सहयोगमा नदीमा खोजतलास गर्ने क्रममा आज बिहान पौने ९ बजे भुजेललाई बगाएको स्थान देखि ७ किलोमिटर दक्षिण नदी किनारमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।