काठमाडौं । मनास्लु हिमालको आधार शिविरमा पुनः हिमपहिरो जाँदा एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार हिमपहिरोमा परेका चारमध्ये तीनजना भने तत्काल नै सम्पर्कमा आएका थिए । शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएका हुन् ।
मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शवपरीक्षणका लागि काठमाडौंको टिचिङ अस्पताल ल्याइएको छ । मृतकको शव परीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ ।