November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

नेपालीद्धारा नेपालीको लागि सुरु गरिएको ‘जाउँ गुरु’ एप भरपर्दो: करिश्मा मानन्धर

काठमाडौं । नायिका करिश्मा मानन्धरले ‘जाउँ गुरु एप’ सुरुवात भएकोमा आफू उत्साहित भएको बताइन् । आइतबार काठमाडौंस्तिथ होटल र्‍याडिशनमा ‘राइड सेयर एप जाउँ गुरु’ को औपचारिक उद्घाटन कार्यक्रममा आफ्नो भनुभूति सुनाउने क्रममा उनले कुनै पनि नयाँ चिजको सुरुवात हुँदा आफू खुशी हुने बताएकी हुन् ।

मानन्धरले पछिल्लो समयमा सहरी भु–भागहरुमा विभिन्न एप्सहरुले मानिसको समयको बचत गरेको बताइन् । उनले जाउँ गुरु अन्य एप्सको तुलनामा भरपर्दो रहेको उल्लेख गर्दै भनिन्, ‘यसअघि थुप्रै यस्ता राइड सेयर एप्सहरु आएका छन्, तर भरपर्दो र टिकाउ पनि त हुनुपर्‍यो ।’ ‘लोकेशन शेयर’, ‘जिपिएस ट्राकिङ’, भुक्तानी, चौबीसै घण्टा अनलाइन सेवा, लगायत थुप्रै सुविधा भएको र ती सुविधाहरुलाई हेर्दा यस एप भरपर्दो रहेको अनुमान लगाउन सकिने उनको भनाइ थियो ।

जाउँ गुरु एप पहिलोपटक नेपालमा नेपालीद्धारा बनेको बताउदै उनले भनिन्, ‘पहिलो पटक नेपालमा नेपालीद्धारा नेपालीको लागि यो एपको सुरुवात हुनु नै यस एपको सबैभन्दा राम्रो पक्ष हो । अहिलेसम्म आएका एप्सहरुमा पूर्ण रुपमा नेपालीहरुको लगानी थिएनन् ।’

Advertisement

जाउँ गुरु प्रा.लि.ले आइतबार एक कार्यक्रमबीच ‘जाउँ गुरु’को औपचारिक उद्घाटन गरेको हो । यस कम्पनीमा तीन युवाहरु इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु र दिवाकर अर्यालको सामूहिक लगानी रहेको छ । कार्यक्रममा करिश्मा मानन्धरसँगै अभिनेता दयाहाङ राई र चलचित्र निर्माता तथा साहित्यकार उपेन्द्र सुब्बाले पनि आफ्नो भनाइ राखेका थिए ।