इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णबहादुर बस्नेतको एकपछि अर्को कर्तुत सार्वजनिक भएको छ ।
उपभोक्ता समिति नै नबनाई एक योजनाको काम संचालन गरेका बस्नेतले आफ्नो गल्ती ढाकछोप गर्न किर्ते माईन्युट खडा गरेको फेला परेको छ । पुरानै मितिको फर्जी भेला र उपभोक्ता समिति गठनको किर्ते माईन्युट खडा गरेको पाईएको हो ।
११ असोजमा पहिलो पटकको आम उपभोक्ताहरुको भेलाले समिति गठन गर्न नकसेपछि अर्को पटक भेला आयोजना गर्ने गरी भेला स्थगित भएको थियो । तर वडाअध्यक्ष बस्नेतले त्यसपछि कुनैपनि भेला आयोजना त गरेनन् नै, आफैं स्काभेटर व्यवस्थापन गरेर एक स्थानीयलाई काम गर्न लगाए ।
स्थानीयबासीबाट उपोभोक्ता समिति गठन नै नगरी काम संचालन भएको गुनासो आएपछि सो सम्बन्धीको समाचार सोमबार प्रकाशन भएको थियो । सो समाचार प्रकाशन भएपछि वडा अध्यक्ष बस्नेतले आफ्नो गल्ती ढाकछोप गर्न आम भेला र उपभोक्ता समिति गठनको किर्ते माईन्युट खडा गरेका हुन् । वडा अध्यक्ष बस्नेतले १३ असोजमा माङसेबुङ गाउँपालिका २ स्थित गाउँपालिका सभाहलमा आम भेला बोलाइएको माइन्युट खडा गरेका छन् ।
सो भेलाले उनै बस्नेतले काम गर्न जिम्मा दिएको एक स्थानीय कुशल इदिङ्गो लिम्बूलाई उपभोक्ता समितिको अध्यक्ष चयन गरेको माइन्युट खडा गरेका छन् । जबकी उनै लिम्बूले सोमबार आफू अध्यक्षको दावेदार भएपनि समिति भने गठन भइनसकेको बताइसकेका छन् । उनले वडाअध्यक्ष बस्नेतले उपभोक्ता समिति गठन पछि गर्ने भन्दै उनैले स्काभेटरको व्यवस्थापन गरी आफूलाई काम गर्ने जिम्मा मात्र दिएको यसअघि नै बताइसकेका छन् ।
वडा अध्यक्ष बस्नेतले पनि उपभोक्ता समितिका अध्यक्ष पदमा धेरैजनाको आकांक्षा भएकाले सहमति नभएपछि समिति पछि गठन गर्नेगरी काम थालिएको वडा अध्यक्ष बस्नेतले यसअघि नै बताइसकेका छन् । तर उनले आफ्नै भनाई विपरित रातारात किर्ते माइन्युट खडा गरेका हुन् ।
यसरी किर्ते गरी तयार गरिएको माइन्युट वडा कार्यालयबाटै प्राप्त भएको छ ।


