November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

नेपाल एयरलाइन्सको उडानमा यो कस्तो लापरवाही ?

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को विमानमा निरन्तर समस्या आइरहेको छ । आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ ।

काठमाडौंबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन । जहाजमा १५ जना सवार थिए । आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन् ।

जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ । गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने निगमले जनाएको छ ।

Advertisement

यता, नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न र अलपत्र परेका यात्रुलाई शनिबारभित्रै गन्तव्यमा पुर्याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो ।

निगमको मङ्सिर १ गते (बिहीबार) को दुईवटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण एअरपोर्टमा पुगेका यात्रुलाई फर्काइएको थियो । टिकट काटेर एअरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नगरेको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए ।

‘मिति २०७९ मङ्सिर १ गतेको उडान नम्बर आरए–२३९को काठमाडौँदेखि दोहा तथा उडान नम्बर आरए २२९ को काठमाडौँ–दुबई जाने हवाइजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएको छ”, प्राधिकरणले निगमलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।” अब उप्रान्त यस किसिमको कमी कमजोरी नगर्न पनि प्राधिकरणले निगमलाई निर्देशन दिएको छ ।