काभ्रेपलान्चोक । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले किसानलाई दिँदै आएको अनुदान रोकिन नहुने बताए । दसौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा काभ्रेको रोशि गाउँपालिकामा गरिएको समापन कार्यक्रमलाई सम्बोधन गर्दैन प्रमुख तथा तथा नेकपा (एकीकृत समाजवादी ) काभ्रेका उपाध्यक्ष गौतमले उक्त कुरा बताएका हुन् ।
किसानलाई दिने अनुदान रकमको विरोध हुँदै आएको छ । यो सबै सुकिला मुकिला र झोलामा कृषि फर्म बोकेर हिड्नेले गर्दा यसको दुरुपयोग भएको हो । उनले भने, ‘यहाँ वास्तविक किसानले अनुदान पाएका छैनन् , तर पहुँचवालाले नक्कली काम गरेर किसानलाई पीडित बनाएका उदाहरण धेरै छन् । पोल्ट्री व्यवसाय जोखिमपूर्ण व्यवसाय भएको बताउँदै आगामी दिनमा कुखुराको पनि बिमा गरि व्यवसायलाई सुरक्षित गर्न आवश्यक रहेको प्रमुख गौतमको धारणा थियो । ‘यहाँ सबैखाले कृषि व्यवसायको बिमा भइरहेको छ तर जसले मासु र अण्डाको मागलाई पर्ति गरिरहेको छ । त्यस व्यवसायलाई सुरक्षित गर्न कुनै क्षेत्रबाट पनि विषेश पहल कदम नभएकोमा दुखेसो व्यक्त गरेका थिए ।
कुनै समय आफू पनि कृषक नै रहेको उदाहरण दिदै प्रमुख गौतमले मासुको मूल्य बढाउन पहल गर्ने र कृषका समस्या के छन अवगत गराउन आग्रह गरेका छन् । ‘म समस्या सुन्ने ठाउमा छु । मैले माथिल्लो निकायमा जानकारी गराउनु पर्छ र गराउने छु । अबका दिनमा उत्पादन र लागतको आधारमा अनुदान दिनु लगाउनु पर्ने कुरामा हाम्रो ध्यानाकर्षण हुने छ ।’ प्रमुख गौतमले भने ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काभ्रे जिल्ला कृषिमा आत्मनिर्भर जिल्ला रहेको भन्दै यसले उपत्यकाको माग पनि पूरा गरेकोमा खुशी व्यक्त गरे । यहाँका स्थानीय तहले कृषिमा दिएको प्राथमिकता प्रशंसायोग्य भएको बताउँदै अझै आफ्नो पालिकालाई व्यवसायमुखी बनाउन सुझाव दिए ।
यस्तै रोशि गाउँपालिका अध्यक्ष दिनेश लामाले नाराले मात्र समृद्धि नआउने बताए । नारालाई जस्तै युवा जनशक्ति र लगानीकर्तालाई आकर्षित गर्न सके मात्र समृद्ध रोशि बनाउन सकिने उनको भनाइ थियो ।
कार्यक्रममा पोल्ट्री व्यवसायी महासङ्घका सल्लाहकार ईश्वर शर्मा, व्यवसायी रविन्द्र सिपखान, नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, गाउँपालिका उपाध्यक्ष लगायत अतिथिहरूले आ आफ्ना धारणा राखेका थिए ।