काठमाडौं । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरणमा समस्या देखिएको छ । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता डाइभर्ट हुनु परेको छ ।
विमानस्थल स्रोतका अनुसार भिजिलिटी कम भएकाले उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर कोलकातामा अवतरण गरेको हो । शुक्रबार बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम रहेकाले अवतरण प्रभावित भएको छ ।
त्यस्तै, बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गर्नुपरेको छ । बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ः६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।
तर ११ बजेपछि उडान–अवतरण सामान्य बन्दै गएको छ । काठमाडौं विमानस्थलमा बिहान भिजिविलिटी १५ सय मिटर भन्दा कम हुँदा अधिकांश आन्तरिक र बाह्य उडानका जहाजको उडान प्रभावित भएको थियो । विमानस्थल कार्यालयका अनुसार अहिले भिजिविलिटी ३ हजार मिटर पुगेको थियो । जसले गर्दा उडान सामान्य बनेको छ ।