November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै, उर्मिला अर्याल निर्विरोध हुने

काठमाडौं । राष्ट्रिय सभाको बैठक सोमबार बस्ने भएको छ । बैठक सोमबार मध्याह्न १२ बजे बस्ने भएको हो । राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन सोमबार हुने भएको छ ।

सोमबारको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि तोकिएको समयमा एक मात्र उम्मेदवारको प्रस्ताव दर्ता भएको छ ।

नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको मात्र प्रस्ताव दर्ता भएकाले उपाध्यक्षमा अर्याल निर्विरोध हुनेछिन् । उम्मेदवारी मनोनयनको दिन नेपाली कांग्रेसले माओवादीविरुद्ध आफ्नो उम्मेदवार खडा नगर्ने निर्णय गरेपछि अर्याल निर्विरोध हुने भएकी हुन् ।

Advertisement

अर्याल प्रस्तावकमा माओवादी नारायणकाजी श्रेष्ठ र समर्थकमा एमाले नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा रहेका छन् । राष्ट्रिय सभाको सोमबार बस्ने बैठकको सम्भावित दैनिक कार्यसूचीमा अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गर्नुपर्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने विषय समेटिएको छ।