November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

‘कोसी प्रदेश’ नाम खारेज नगरे अझ सशक्त आन्दोलन गर्ने पहिचान पक्षधरहरुको चेतावनी

पदम सुखी सम्बाहाम्फे
२०७९ फाल्गुन २९

पाँचथर । कुम्मायक गाउँपालिकाका विभिन्न संघसंगठन तथा पहिचान पक्षधर राजनीतिक दलहरूले ‘कोसी प्रदेश’ नाम खारेज नगरे सशक्त आन्दोलन गर्ने जनाएका छन् । किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउकार्य समितिको संयोजगत्वमा बसेको आकस्मिक बैठकले यस्ता चेतावनी दिएको हो ।

लिम्बुवान संघर्ष समितिद्वारा घोषणा गरिएको आन्दोलन अनुसार कुम्मायक गाउँपालिकाको यासोक बजारमा मसाल जुलुस निकालिएको थिया भने वडा नम्बर २ माङ्जाबुङको चौथीमा रहेका सरकारी कार्यलयमा कालो झण्डा गाडीनुका साथै आमहडतालको आयोजना गरिएको थियो । लिम्बुवान किरातको माग गर्दै आइतबार भएको एकदिने हडताल तथा प्रदेश नम्बर एक बन्दको प्रभाव यासोक बजारमा पनि परेको थियो ।

किरात याक्थुङ चुम्लुङ, जनता समाजवादी पार्टी नेपाल, किरात राई यायोक्खा र सङ्घीय लिम्बुवान राष्ट्रिय मन्चका नेता तथा कार्यकर्ताले शान्तिपूर्ण बन्दपछि कोणसभामा आआफ्नो धारणा राखेका थिए ।

Advertisement

तीसलाख लिम्बुवानी जनताको भावनामा कुठाराघात गरेको भन्दै जसपा पार्टीका जिल्ला सदस्य सुर्यदिप सम्बाहाम्फेले अब यस्ता धोकेबाज सांसदहरुलाई कालोमोसो र जुत्ताको माला लगाइदिने बताए ।

उक्त कोणसभालाई सम्बोधन गर्दै लिम्बुवान राष्ट्रिय समिति सदस्य जकेन्द्र लावतीले ‘लिम्बुवान किरात’ भन्दा यो जातीय प्रदेशको नामाङ्कन भयो भन्ने तर कोशी भन्दा कुन जातिको पहिचान भयो ? भन्ने प्रश्न गरेका थिए । उनले लिम्बुवान एक इतिहास र किरात सभ्यता भएको बताए । ‘हिजो लिम्बुवान भएकोले हामी लिम्बू भएको हौँ, लिम्बुवान भूमिमा बस्ने सबै जातजातिहरु लिम्बू हुन् ।’, उनले भने । उनले एमाले काँग्रेस र माओवादी पार्टीहरुले देशमा ब्रम्हलुट मच्चाएर आदिवासी जनजातिलाई सधैं दोस्रो दर्जाको नागरिक बनाई उनीहरुको भावना र अस्तित्वमाथि राजनीतिक खेलवाड गरेको आरोप लगाए ।

१ नम्बर प्रदेशको नामाङ्कनमा कोसी लेखे औंला काट्ने भन्दै जनता ढाट्ने व्यक्तिलाई छुट दिन नहुने किरात याक्थुङ चुम्लुङका कोषाध्यक्ष मनकुमारी शेर्माले बताइन् ।

आन्दोलनका स्वरुपहरु बदल्दै जाने र थप सशक्त रूपमा आन्दोलन गर्दै जाने आन्दोलनकारीहरु बताउछन् ।