तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक चार लेनको बनाउने क्रममा घाँसीकुवामाथि डोजर लगाउने भएको छ ।
पृथ्वी राजमार्गहुँदै पोखरा जाँदा तनहुँको सदरमुकाम दमौली पुग्नुभन्दा झन्डै दुई किलोमिटरअगाडि रहेको घाँसीकुवामा डोजर लगाउने भएको हो । जुन कुवामा आदिकवि भानुभक्त आचार्यले घाँसीसँग अर्ति पाएको किंवदन्ती छ ।
सडक बिस्तार गर्ने नाममा पार्कको आधाभन्दा बढी क्षेत्र भत्किसकेको छ । भत्काउन बाँकी खण्डमा उत्तर फर्किएका भानुभक्त र पूर्व फर्किएका घाँसीको सालिक छ । ती सालिक डोजर लगायत निर्माण सामग्री र सवारीले उडाएको धुलोले छोपिएका छन् । घाँसीकुवामा डोजर चलाउन ठिक्क पारिएको छ । डोजरले जरैदेखि उखेलेर फालिन तयार कुवा सडकबाट झरेका धुलोमैलोले भरिएको छ ।
ऐतिहासिक घाँसीकुवाको अस्तित्व मेटिने अवस्था आउँदा पनि स्थानीय राजनीतिक दल र साहित्यिक संघ–संस्थाहरूले संरक्षणको कुरा नउठाएको बुझिएको छ ।
मंसिर ४ को आमनिर्वाचनमा यही क्षेत्रबाट जितेर राष्ट्रपति बनेका रामचन्द्र पौडेलले पटकपटक घाँसीकुवा गएर सडक अन्यत्र मोड्नुपर्ने बताएका थिए । तर उनको आवाज सडक आयोजनाले नसुनेको बुझिएको छ ।
२०२१÷२२ सालतिर पृथ्वी राजमार्गको ट्रयाक खोल्दा पनि कुवा भत्काइन लागेको थियो । त्यति बेला चीन सरकारको अनुदानमा चिनियाँ ठेकेदारले नै पृथ्वी राजमार्ग बनाउँदै थिए । राजाको प्रत्यक्ष शासन रहेको त्यो समय सडक आयोजनाको विरोध गर्न धेरै मान्छे डराए पनि घाँसीकुवामा डोजर चलाएको सहन सकेनन् । त्यो बेला स्कुल पढ्दै गरेका विद्यार्थीहरुले घाँसीकुवा संरक्षण निम्ति चिनियाँ ठेकेदार कम्पनीको क्याम्प घेर्न गएर घाँसीकुवा बचाएका थिए ।