काठमाडौं: काठमाडौं उपत्यकाको मौसममा सुधार आएको छ। केही दिनदेखि बाक्लो हुस्सु लागेर वायु प्रदूषण बढेको उपत्यकामा हिजो बिहानदेखि बादल हटेर घाम लागेको छ ।
उता विराटनगरमा भने वायु अझै प्रदुषित पाइएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन विराटनगर महानगरपालिकाले र्सवसाधारणहरुलाई अपिल गरेको छ ।
वायु प्रदुषणका कारण जनस्वास्थ्यमा असर पर्ने भएकाले फोहोर जलाउने कार्य बन्द गर्न र फोहोरको उचित व्यवस्था गर्न आग्रह गरिएको छ । यसैगरी मर्निङ वाक नजान वा घर बाहिर गरिदै आएको व्यायाम रोक्न आग्रह गरिएको छ ।
सामान्यतया हावामा प्रदुषणको मात्रा ५० सम्मलाई राम्रो मानिन्छ । बुधबार दिउँसो विराटनगरको वायु प्रदुषणको अवस्था एयर क्वालिटी इण्डेक्स १५७ पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ । ४ दिन अघि विराटनगरको एयर क्वालिटी इण्डेक्स २१० सम्म पुगेको थियो ।
वायु प्रदुषणका कारण बालबालिका र वृद्धवृद्धा तथा श्वासप्रश्वास सम्बन्धि र मुटुका विरामीहरु बढी प्रभावित हुने गरेको चिकित्सकहरुले बताएका छन् ।