विराटनगर: सरकारको अनुमान थियो यो हिउँदमा कोरोना संक्रमणले झन् उग्र रुप लिनेछ । संक्रमितको संख्या बढ्दा स्वास्थ्य क्षेत्र सञ्चालन र बिरामीको व्यवस्थापनमा कठिनाइ आउन सक्ने आकलन थियो । सरकारले परिस्थितलाई काबुमा राख्न विशेष स्वास्थ्य सावधानी अपनाउन नागरिकहरुमा अपिल गरिरहेको छ । तर, पुस चौथो साता सुरु भइसक्दा प्रदेश १ का अस्पतालहरुमा भने कोभिड १९ (कोरोना) का बिरामीको संख्या घटेर शय्या खाली हुन थालेका छन । कोरोना संक्रमितको उपचार हुने प्रदेशका सरकारी र निजी अस्पतालहरुमा अब दोहोरो संख्यामा संक्रमित छैनन् ।
प्रदेश सरकारले गत चैतबाट सञ्चालनमा ल्याएको कोसी कोभिड १९ अस्पतालमा एक संक्रमित मात्र उपचाररत छन् । अस्पतालका अनुसार बुधबार साँझसम्म दुईजना संक्रमितमध्ये भेन्टिलेटरमा उपचाररत एकजनाको आज बिहान मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी आनन्द लामिछानेका अनुसार पछिल्लो एक महिनायता संक्रमित भर्ना हुने दर घटेर लगभग शून्यमा पुग्ने अवस्था छ । उनले भने, “अहिले संक्रमित भई उपचार गर्न आउनेको संख्या घट्न सुरु भएको छ ।”
हालसम्म कोसी कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका ८२२ जना भर्ना भएकामा ५५ जनाको मृत्यु भएको छ । कोसी अस्पतालका मेसु डा. चुमनलाल दासका अनुसार अहिले कोरोना संक्रमणको दर घटेको देखिएको बताउँदै भन्छन्, “परीक्षण संख्या पनि क्रमशः कम हुँदै गएकाले पनि कमी आएको देखिन्छ ।” अस्पतालले ज्वरो आएका र रुघाखोकी लागेका बिरामीलाई पहिले फिभर क्लिनिकमा परीक्षण गरेर मात्र स्वाब परीक्षण गर्न थालिएको जानकारी दिएका छन् । प्रदेश १ मा दैनिक १ हजारको संख्यामा हुने गरेको परीक्षण अहिले चार सय हाराहारीमा झरेको छ ।
कोसी अस्पतालको आइसोलेसनका इन्चार्ज डा. लक्ष्मीनारायण यादव अहिले संक्रमितको संख्यामा कमी आएको देखिए पनि लापरबाही भने हुन नहुने आम सर्वसाधारणलाई सुझाव दिन्छन् । यादवले भने, “सरकारले लागु गरेका स्वास्थ्यसम्बन्धी प्रोटोकल सबैले मान्नुपर्छ । कोभिड पूरै सकिएको जसरी व्यवहार गर्नु हुँदैन ।” उनले संक्रमणले जुनबेला पनि स्वरुप फेर्न सक्ने खतरा भने रहिरहेको बताए ।
रेफरल अस्पतालका रुपमा समेत सेवा दिइरहेको धरानको बीपीको कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबारसम्म जम्मा एकजना संक्रमित मात्र उपचाररत छन् । अस्पताल प्रशासनका अनुसार हालसम्म भर्ना भएका एक हजार १७३ जनामध्ये ११९ जनाको मृत्यु भएको छ । प्रतिष्ठानबाट कोरोना ठीक भई ९७६ जना डिस्चार्ज भएका छन् । प्रतिष्ठानले हालसम्म ७३ हजार ३०७ नमुना संकलन गरी पीसीआर परीक्षण गरेको छ । तीमध्ये ६४ हजार ३२९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमित ४१० जना छन् । तीमध्ये ३९१ जना होमआइसोलेसनमा छन् । २९ हजार ९२८ संक्रमितमध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४६३ जनाको मृत्यु भएको छ । प्रदेशभर हालसम्म दुई लाख १० हजार ७२५ जनाको पीसीआर परीक्षण भएको छ ।
विराटनगरमा निजी क्षेत्रसमेतको पहलमा खोलिएको एक सय शय्याको नागरिक केयर सेन्टरमा बिरामी भर्ना भएका छैनन् । संक्रमित हुने दर नै कम भएपछि अस्पताल भर्ना हुने बिरामी नभएको निजी अस्पतालले समेत जनाएका छन् । विराटनगरको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार बिहीबार मध्यान्नसम्म अस्पतालमा जम्मा चारजना कोरोना संक्रमित उपचाररत छन् । दाहालले भने, “आईसीयूमा राख्नुपर्ने बिरामीको संख्या विगतजस्तो छैन । दोहोरो अंकमा संक्रमित भर्ना नभएको त निकै भइसक्यो ।” नोबेलले कोरोना परीक्षण र उपचार दुवैको प्रबन्ध गरेको छ ।
दाहालका अनुसार अहिले अस्पतालसम्म आएर कोरोना परीक्षण गर्नेको संख्यामा समेत कमी आएको छ । विराटनगरकै विराट अस्पतालले सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा चारजना मात्र उपचाररत छन् । मेची अस्पतालमा तीनजना आइसोलेसनमा उपचार गराइरहेका छन् ।