काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताएका छन् ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा मलाई १८ हजार बढी मतले विजयी गराए । यो मत मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’
आफू निर्वाचित भएपछि आफू भेदभावरहित ढङ्गले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरूको काममा भेदभाव र पूर्वाग्रह नराखी काम गरिरहेको जिकिर गरे ।
कार्यक्रममा महालेखा परीक्षकको कार्यालयकी कार्यवाहक महालेखापरीक्षक राममाया कुँवरले महालेखा परीक्षकले गरेको लेखा परीक्षणको सम्पूर्ण गतिविधि कार्यालयको वेवसाइटमा राखिएकाले जोकोहीले पनि लेखा परीक्षणसम्बन्धी प्रतिवेदन हेर्न सकिने व्यवस्था गरिएको बताए ।
०७४÷७५ देखि २०७९÷८० सम्मको लेखा परीक्षण गर्दा अनियमितता तथा भ्रष्टाचार व्याप्त रहेको जानकारी गराउँदै कावा महालेखापरीक्षक कुँवरले पालिकाले सुधार गर्नुपर्ने व्यहोरा समेत उल्लेख गरिएको बताए ।
महालेखा परीक्षककले स्थानीय तह देखि सम्पूर्ण सरकारी कार्यालयहरूमा सुशासन कायम गराउन ‘वाच डग’को भूमिका निर्वाह गरिरहेको जिकिर गरे ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालले अख्तियार ०७८÷८९ मा कुल २४ हजार ३३१ उजुरी परेको जसमध्ये १७ हजार १६७ उजुरी परेको जसमध्ये १ सय ३१ वटा उजुरी सम्मानित विशेष अदालतमा मुद्दा दायर भएको जानकारी गराए भने सुशासनको सन्दर्भमा एक महत्वपूर्ण पेपर प्रस्तुत गरेका थिए ।
राष्ट्रिय सतर्कता केन्द्रका निमित्त सचिव विनु बज्राचार्य कुँवरले सतर्कता केन्द्रले आफ्नो क्षेत्राधिकार र दायराभित्र रहेर उजुरी संकलनलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्यक्ष उजुरी संकलन, अनलाइन र इमेल मार्फत उजुरीको आधारमा उजुरी दिने र सोही उजुरीको आधारमा सतर्कता केन्द्रले कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ ।’
केन्द्रले भ्रष्टाचार निवारण ऐन २०५९ टेकेर काम कारबाही गरिरहेको जानकारी गराए ।उनले भने, ‘सूचना संकलन, सतर्क गराउने, सम्पत्ति विवरणको जानकारी राख्ने, छड्के जाँच गर्ने, प्राविधिक परीक्षण गर्ने र जनेचतनाको काम कारबाही तीव्र गतिमा अगाडि बढिरहेको छ ।’
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अख्तियार र महालेखा परीक्षकको कार्यालयकै कारण काम गर्ने वातावरण नभएको बताए ।
कर्मचारीहरू काम गर्न कार्यक्षेत्रमा जाँदै गर्दा उसले कदमै पिच्छे अख्तियारलाई सम्झनुपरेपछि कर्मचारीको मनोबल खस्किने भन्दै अख्तियार असली वाच डगको रूपमा रहोस् भन्नेमा जोड दिए ।
काठमाडौंका प्रजिअ घनश्याम उपाध्यायले जनताको पक्षमा काम गर्न अझ धेरै बाकी छ भन्दै स्वास्थ उपचार सहज हुने वातावरण बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका थिए ।
उनले ललितपुर महानगरपालिकाले गरेका सम्पूर्ण विकास निर्माणका कार्यहरूलाई समेटेर पेपर प्रस्तुत गरेका थिए ।
ललितपुरका प्रजिअ रुद्र प्रसाद पण्डितले पनि आफनो जागिरको अनुभव सुनाउदै अब सुधारको गुन्ज्यास छैन भनेका थिए ।
भक्तपुरका प्रजिअ खगेन्द्र प्रसाद रिजालले पनि सुशासनको पक्षलाई बलियो बनाउनुपर्ने मा जोड दिनुभयो त्यस्तै उपत्यकाका सबै नगरपालिकाका कार्यकारी प्रमुखहरूलाई भेला गराइएको यो कार्यक्रममा जिल्लाका सुरक्षा प्रमुख लगायतका सबैको उपस्थिति रहेको थियो ।
ललितपुर उपमहानगर पालिकाको सहकार्यमा भएको कार्यक्रममा उपप्रमुख मन्जली शाक्य सहितको भब्य उपस्थिति रहको थियो ।
तराई विकास तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक विन्दु विष्ट, नायब महालेखा परीक्षक, शंकर प्रसाद पन्थी, श्याम प्रसाद भण्डारी, ललितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक सिद्ध विक्रम शाहलगायत उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, लेखा अधिकृत लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।