हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको ‘दशैं तिहार शुभकामना आदानप्रदान’ कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए हङकङले शुक्रबार ब्लु ओसनस्थित रेष्टुरेण्टमा विभिन्न कार्यक्रमसहित शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
नेपाली महावाणिज्य दुतावासका वाणिज्य दुत सतिस गुरुङको प्रमुख आतिथ्यता तथा एनआरएनए हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २०२३-०२५ का लागि निर्वाचित एनआरएनएका महिला सचिव राधिका गुरुङ, एनआरएनए आइसीसीबाट ‘एनसीसी बेस्ट वुमेन कोअर्डिनेटर’ प्राप्त गरेकी कविता गुरुङ, अल्ट्रा धाविका सुनमाया बुढा, पदम कुमारी सुनुवार र सबिना राईलाई फूलमाला र खादा लगाएर सम्मान गरिएको थियो ।


दीप प्रज्वलन गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष्य अनु राईले राखेका थिए भने सोफिया गुरुङ र रिस्ता गुरुङले नित्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिहरू नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष लव कुमार गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका हङकङका अध्यक्ष टोपराज तामाङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ र एनआरएनएका महिला सचिव राधिका गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।


यस्तै, कार्यक्रममा नेपालका भूकम्पपीडितको लागि सहयोग रकम संकलन गरिएको जानकारी समेत दिइएको थियो । ३ नोभेम्बर २०२३ को रात जाजरकोटलाई केन्द्रविन्दु बनाएर रुकुम पश्चिममा गएको ६.४ रेक्टरको भूकम्पमा परेकाहरूका लागि एनआरएनए हङकङको पहलमा हङकङ डलर ९४ हजार १ सय ५६ रुपैयाँ संकलन भएको कार्यक्रम संचालकले जानकारी दिएका थिए । अझैं सहयोग रकम आउने क्रम जारी रहेको उबले बताए । ‘आइतबारसम्म रकम जम्मा गरेर सोमबार (२० तारिख) प्रेस विज्ञप्ति जारी गरि नेपाल पठाउने छौं’, कार्यक्रम संचालकले जनकारी दिए।
भूकम्पपीडितका लागि सहयोग गरेको भन्दै एनआरएनए हङकङले नेपाली अल्पसंख्यक संगठनका अध्यक्ष विकास नेपालीलाई सम्मान गरेको थियो । यस्तै, पुन मगर समाजका अध्यक्ष गोमा मगर पुर्जालाई पनि सम्मान गरिएको थियो । दुवै संस्थाले क्रमश हङकङ डलर १५ हजार ३ सय ४४ र ५ हजार सहयोग प्रदान गरेको जनाइएको छ । संस्थागत रुपमा सहयोग गर्ने संघसंस्था तथा कम्पनीलाई सम्मान तथा प्रशंसा पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा देउसीभैलो कार्यक्रम अन्तर्गत अनु राई, मनोज सूर्यवंशी र विश्वनाथ घिसिङ, सोफिया गुरुङ र सोफिया गुरुङ, हिमाल मल्ल र अनु टीका लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको तेस्रो चरणमा पुन ब्यान्डले लाइभ म्युजिक प्रस्तुत गरेको थियो । जसका प्रमुख भोकलिस्ट जगत पुन र अमित प्रिजा पुन रहेका थिए । यस्तै, रिदम भोकलिस्ट तथा लिड गितारिस्ट अरुण पुन, ड्रमर गणेश पुन र डुइन डेट स्टाडोमा दिना पुन रहेकी थिइन् ।
कार्यक्रममा एनआरएनए हङकङका सल्लाहकार धरमकुमार गुरुङ, खुशी लिम्बु र मिनबहादुर गुरुङ, मगर संघ हङकङका अध्यक्ष याम बुढाथोकी, हङकङ नेपाली अल्पसंख्यक संगठनका अध्यक्ष विकास नेपाली, एनआरएनए हङकङका पूर्व सल्लाहकार देवबहादुर गुरुङ,हङकङ नेपाली साहित्यिक साझा संघका संयोजक रमण गुरुङ, किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष शेरबहादुर लक्सम लगायतको विशेष आतिथ्यता रहेको थियो ।