November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

माधव नेपालको सचिवालयद्वारा भूकम्प प्रभावितलाई राहत वितरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सचिवालयले जाजरकोटमा पुगेर भूकम्प प्रभावितहरूलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । टोलीले जाजरकोटको कुसे गाउँपालिका- ९ का भूकम्प प्रभावितलाई राहत सामग्री विरतण गरेको हो  ।
 
राहत सामाग्री नेता नेपालका स्वकीय सचिव तथा नेपाल रिटर्नी एशोसिएसनका अध्यक्ष प्रविन पौडेल र रिटर्नी यस्सोसिएसनका सचिवद्वय प्रकाश महरा र बम बहादुर विसिले कुसे गाउँपालिका–९ सँग समन्वय गरी स्थानीय जनप्रतिनिधि, आमा समूह लगायत विभिन्न पार्टीका स्थानीय नेताहरु साथै बुद्धिजीवीहरूको उपस्थितिमा वितरण गरेका थिए ।

स्थानीयसँग कुरा गर्दै एसोसिएसनका अध्यक्ष पौडेलले यस्तो विपदको समयमा कसैले पनि राहत सामाग्री आफूले जम्मा गर्ने गरी दोहोर्याएर नलिएर सरकारलाई सहयोग गरिदिन आग्रह गरे । उनले पारदर्शी र छिटो राहत वितरण गर्न वडाका जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराएका थिए ।

पौडेलले कुसे गाउँपालिका वडा नं ९ का वडा अध्यक्षलाई कुसेदेखि खलंगासम्म जाने सडक धेरै जोखिमयुक्त रहेको र सडकको कारणले यहाँका बासिन्दाले खलंगा पुग्न ज्यानको जोखिम उठाउनुका साथै चर्को भाडा तिर्न बाध्य भएकोले सम्बन्धित वडा तथा गाउँपालिकासँग समन्वय गरी  सरकारको बजेट नपुगे जनताको साथ लिएर भए पनि जोखिम युक्त सडकलाई जनताको सहयोगबाट सुधार गरी जोखिम न्यून गर्न सकिने सुझाव समेत दिए  ।

Advertisement

यसका लागि वडा ९ का वडाध्यक्ष शिवराज गिरीलाई वडा ४,५ ६,७,८ सँग समन्वय गरेर उक्त सडक मर्मत कार्यलाई  अगाडि बढाउन सकिने सुझाव दिएका थिए।