काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले राजीनामा दिएका छन् । विभिन्न प्रकरणमा मुछिएपछि खनालले मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।
आगामी साउनसम्म कार्यकाल बाँकी रहेको खनाल पछिल्लो समय टेरामक्स, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमए) लगायतका विवादमा तानिएका थिए । विभिन्न प्रकरणमा नाम जोडिएका उनले तीब्र आलोचना बढिरहेको अवस्थामा राजीनामा बुझाएका छन् ।
इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले राजस्व छली गरेको विषय, स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेल शेयर खरिद विक्री प्रकरणमा समेत प्राधिकरणले काम गर्न नसकेको भनेर उनको आलोचना हुने गरेको थियो ।
खनाल २०७६ साउन ९ गते प्राधिकरणको अध्यक्ष बनेका थिए ।