काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाइएको छ । उनलाई भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएको हो ।
विशेष अदालतले बुधबार शाहलाई तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र सोही परिणामको जरिवाना तिराउन आदेश भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उक्त भ्रष्टाचार मुद्दाका चार आरोपितमध्ये शाह र नेपाल प्रहरीका पूर्व सई दिपेन्द्र पनेरुलाई पनि तीन वर्ष नै कैद सजाय सुनाएको छ ।
उनीबाट पनि १६ लाख ६९ हजार बिगो र त्यति नै रकम जरिवाना तिराउन फैसला सुनाइएको छ । सोही प्रकरणका आरोपितहरू लेखापाल संजीव विशुंखे र प्रहरी हवल्दार केशवसिंह ऐरीले भने विशेष अदालतबाट सफाई पाएका छन् ।
साहित्यकारसमेत रहेका शाह क्षेत्रीय तालिम प्रहरी केन्द्र दुधौलीको कार्यालयमा प्रमुख रहेका बेला भ्रष्टाचार गरेकोमा दोषी ठहर भएका हुन् ।