काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रिय सभालाई सरकारले बेवास्ता गरेको बताएकी छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा भाग लिँदै उनले सरकारले राष्ट्रिय सभालाई हेपेको बताएकी हुन् ।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढेर सुनाउने अर्थमन्त्री डा.प्रकाशशरण महत नै उपस्थित नभएको भन्दै डा. पौड्यालले भनिन्, ‘कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्ने छ । आजको सम्बन्धित मन्त्री अर्थमन्त्री हो । वहाँ हुनुहुन्नँ । वहाँसँगसँगै अरु विशिष्ट कर्मचारीहरू, जो बसेर टिपोट टिपेर वहाँहरुलाई नोट दिनुहुन्थ्यो, वहाँहरुको पनि उपस्थिति छैन जस्तो लाग्छ मलाई । यो भनेको राष्ट्रिय सभालाई किन हेप्या होला सरकारले ? जस्तो लागेको छ ।’, यसमा आफ्नो विरोध रहेको उल्लेख गर्दै उनले थपिन्, ‘सरकारले चेतोस् ।’
उनले अर्थमन्त्री नै उपस्थित नभएको सभामा सरकारले सांसदहरूले राखेका धारणा नसुन्ने बताइन् । उनले भनिन्, ‘यहाँ आएर सुन्न नभ्याउने मन्त्री, आफूले बोलेको कुरामा रेस्पोन्स् गर्नुहोला जस्तो छैन । तर, मन्त्रीले रेस्पोन्स् गर्दैन कि भनेर सांसदले बोल्न छोड्यो भने झन् चौपट हुन्छ ।’
उनले सुरु भइसकेका आयोजना कुनैपनि सरकारले सुरु गरेको भएपनि पूरा गर्नेतिर बजेट र कार्यक्रमको ध्यान जानुपर्ने बताइन् ।
उनले आर्थिक वर्ष सकिन ४ महिनामात्रै बाँकी रहँदा २५ प्रतिशत पनि सार्वजनिक खर्च नभएको बताइन् । ‘दुईतिहाई समय सकिदा पनि २५ प्रतिशत पनि सार्वजनिक खर्च हुन सकेको छैन । त्यसैगरी ८ महिनामा हामीले राजस्व ४५ प्रतिशत पनि उठाउन सकेका छैनौं । त्यो हेर्दा जेठ १५ मै बजेट ल्याएर सुधार हुन्छ कि भन्ने संविधानले लेखेको उद्देश्य पनि पुरा भाको छैन’, उनको भनाई छ ।