August 29, 2026, Saturday
२०८३ भाद्र १४
1:37:26 pm

विपन्न महिलाहरूको मिटरब्याज लगायतका ऋण मिनाहा गर्नेगरी कार्यक्रम ल्याउँदैछौँ : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरूको मिटरब्याजलगायतका ऋणहरू मिनाहा गर्नेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको बताएकी छन् ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वडा स्तरबाट विपन्न महिलाहरूको पहिचान गरी उनीहरूको मिटरब्याजलगायतका ऋणहरू मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको जानकारी दिएकी हुन् ।

पछाडि परेका महिलाहरूलाई अघि बढाउन पनि आफूले मन्त्रालयको तर्फबाट सो कार्यक्रम ल्याउन लागेको मन्त्री चौधरीको भनाई थियो ।

Advertisement

उनले भनिन्, ‘अब महिलाहरू त आयो आयो । अति विपन्न महिलाहरूको लागि चाहिँ वडास्तरबाटै मिटरब्याजीलगायतका कुराहरू आउँछन् । ती ऋणहरू मिनाहा गरिदिने कुराहरू आउँछन् । राज्यले नै त्यस्ता कुराहरू गर्यो भने महिलाहरू अगाडि बढ्न सक्छन् भनेर मन्त्रालयबाट त्यो कार्यक्रम ल्याउँदैछौं भन्ने कुरा जानकारी गराउन चाहन्छु ।’

मन्त्री चौधरीले महिलाहरूको सशक्तीकरणका लागि बजेट बढाउनका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको पनि बताइन्।