August 29, 2026, Saturday
२०८३ भाद्र १४
1:37:26 pm

सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग

काठमाडौं । नेपाली कांग्रसकी सांसद प्रतिमा गौतमले सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छिन्। आजको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले उप्रधानमन्त्री तथा गृहमन्त्री रवी छामिछानेमाथि सहकारीका रकम अनियमिततासम्बन्धी लागेको आरोपबारे संसदीय छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेकी हुन् ।

सत्तापक्ष, प्रतिपक्षलगायत सबै दलको प्रतिनिधित्व हुनेगरी छानबिन समिति बनाउनुपर्ने माग राख्दै उनले भनिन्,’आजभोलि सहकारीपीडितहरु यत्रतत्र भेटिन थालेका छन् । आज विहान मात्रै गौशालाकी डङ्गोल थर भएकी महिला मेरो घरमा आएर आफू सहकारीबाट पीडित भएको बताउनुभयो । फुटपाथमा व्यवसाय गर्ने उहाँले सहकारीमा जम्मा गरेको रकम डुबेछ । ती दिदीले रुँदै सहकारीकै कारण बर्बाद भएको बताउनुभयो । उहाँ प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ ।’

सहकारीको समस्या एउटा व्यक्तिको मात्रै नभएर करिब ७४ लाख सदस्यको भएको बताउँदै उनले त्यसमध्ये करिब ६० प्रतिशत महिला र त्यसमा पनि मध्यम र निम्न मध्यमवर्गीय परिवार रहेको उनले बताइन्। उनले लाखौ व्यक्तिले दुःख गरेर सहकारीमा राखेको बचत जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

Advertisement

संसदमा सडकदेखि सदनसम्म, सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म सहकारीको रकम ठगीका विषय चर्चामा रहे पनि सरकारले सहकारीपीडितको पीडा देख्न नसकेको उल्लेख गर्दै उनले सरकारले सहकारी ठगीसम्बन्धी विषयलाई हल्कारुपमा लिन नहुने भन्दै पीडितलाई न्याय दिनुपर्नेमा जोड दिइन् ।

उनले सहकारीपीडितका विषयमा अनुसन्धान प्रक्रिया पूर्णरुपमा प्रभावित भएको र राजनीतिक नेतृत्वले गरेको प्रतिबद्धताप्रति विश्वासको सङ्कट सिर्जना भएको उनको भनाइ छ ।

उनले सहकारीपीडितको समस्या समाधान गर्न संसदीय छानबिन समिति बनाएर अगाडि बढ्न बारम्बार संसद्समक्ष राख्दै आए पनि प्रमाण छैन भन्दै टार्दै आएको बताइन् । जनताको बचत फिर्ता हुने गरी छानबिन समिति बनाउनुपर्ने उनको माग छ ।