काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का उपहासचिव तथा पूर्व भौतिक यातायात तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालले आफ्नो निरन्तरको प्रयासले नागढुङ्गा सुरूङ मार्गको ब्रेकथ्रुको काम सम्भव भएको बताएका छन् । सोमबार ब्रेकथ्रु कार्यक्रममा सहभागी भएका पूर्वमन्त्री ज्वालाले आफूलाई खुशी लागेको बताए।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज मलाई गौरवको अनुभूति भएको छ। सिङ्गो देशलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने मुल ढोकाको रुपमा रहेको राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा सुरुङ मार्गको मुख्य सुरुङ ब्रेकथ्रु भएको छ। यो भव्य समारोहमा सहभागी हुन पाउदा खुशीको महसुस भएको छ।’
उपमहासचिव ज्वालाले अगाडि लेखेका छन्, ‘मैले गत वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी लिइरहँदा यो परियोजना समस्या र चुनौतिहरूले घेरिएको थियो। हाम्रो निरन्तरको पहल, अनुगमन, छलफल र समन्वयका कारण आज मुख्य सुरुङ ब्रेकथ्रु सम्भव भएको छ। आपतकालिन सुरुङ भने यस अघि नै ब्रेकथ्रु भैसकेको थियो। अब नेपाल यातायात क्षेत्रमा सुरुङ युगमा प्रवेश गरेको छ। यो क्षण हाम्रो देशको सडक निर्माणको एउटा कोशेढुङ्गा बनोस्। यो महत्वपूर्ण अभियानमा सक्रिय सहभागी र पहलकर्ता सबैलाई बधाई तथा धन्यवाद।’