August 29, 2026, Saturday
२०८३ भाद्र १४
1:37:26 pm

‘सीधा कुरा’द्वारा प्रसारित सामाग्रीबारे सर्वोच्चले हस्तक्षेपकारी निर्णय गरेको भन्दै प्रेस संगठनको आपत्ति

काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारित गरेको सामाग्रीलाई लिएर सर्वोच्च अदालतले गरेको हस्तक्षेपप्रति आपत्ति जनाएको छ ।

सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले एक विज्ञप्ति जारी गर्दै न्याय सम्पादनसँग सम्बन्धित विषयलाई लिएर केही सञ्चार गृहका सञ्चालकलाई समेत विवादमा मुछ्ने प्रयासस्वरुप ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारित गरेको सामाग्रीको सत्यता र विश्वसनीयताको कानुनी तथा प्राविधिक परीक्षण हुनुपर्ने उल्लेख गर्दै उनले आफूहरू मर्यादित र जिम्मेवार पत्रकारिताको पक्षधर भएका कारण ती कुरा छानबिनयोग्य रहेको बताएका छन् ।

सर्वोच्च अदालतले सोमबार हस्तक्षेपकारी ढङ्गबाट उक्त सञ्चार संस्था, त्यसमा सम्बद्ध पत्रकारका विषयमा दिएको आदेश संविधान विपरीत रहेको बताउँदै उनले संविधानको प्रस्तावनाले नै सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको अभ्यासमाथि प्रश्न उठेको बताएका छन् ।

Advertisement

सञ्चारकर्म र उक्त क्षेत्रलाई नियमन, अनुगमन र कारबाही गर्नका निम्ति राज्यले स्थापना गरेका निकायहरू हुँदाहुँदै सीधै सर्वोच्च अदालतबाट समाचार सामाग्री हटाउन आदेश दिने, नियामक निकायको क्षेत्राधिकारमा हस्तक्षेप गर्दै उपस्थित हुन आदेश दिनेजस्ता कामले संवैधानिक सीमा र दायित्वमै अन्यौलता उत्पन्न भएको अध्यक्ष सुवेदीले बताएका छन् ।

‘कुनै पनि सञ्चार संस्थाले अदालतको अवहेलना हुने, व्यक्तिमाथि गाली बेइज्जती गर्नेजस्ता कसुर गर्नु दण्डनीय विषय हो । यद्यपि, त्यस विषयको कानुनी र प्राविधिक परीक्षणका विधि तथा प्रक्रियाहरू छन् । त्यसमा सीधै अदालतबाट आदेश आउने स्थितिले स्वयं सर्वोच्च अदालत प्रेस जगतसँग कस्तो सम्बन्ध राख्न चाहन्छ भन्ने प्रश्न उठेको छ’, विज्ञप्तिमा उल्लेख छ ।