पाचथर जिल्लाको कुम्मायक गाउँपालिका ४ साविक रानिगाउँ ६ स्थित खाम्लेको पुच्छारे टोलमा गत बिहीवार दुई घरमा आगलागी भएको छ । जङ्गलमा लागेको डढेलो बस्तीमा आइपुगेपछि बर्ण बिक्रम सम्बाहाम्फे र उनका छोरा सरोज सम्बाहाम्फेको खरको छानो भएको घर जलेर खरानी भएको हो ।
बिहान १० बजे अचानक घरमा आगलागी हुँदा नगद १० हजार रुपैयाँ र एक तोला सुन साथै चाँदीको गहना एक तोलासहित लत्ताकपडा भाडा वर्तन जलेर नष्ट भएको अग्नि पीडित प्रमिला सम्बाहाम्फेले बताइन् । जिउमा लाएको एकसरो लुगा बाहेक केही जोगाउन नसकेको उनी बताउछिन् । ९ जनाको परिवार आगलागीबाट विस्थापित भएर हाल छिमेकीको घरमा शरण लिएर बसेको पनि उनले बताइन् ।
यसैगरी सोही दिन साविक रानिगाउँ ७ आहाले टोलमा रहेको ओम निरौलाको घरमा पनि आगलागी भएको थियो भने पुच्छारे टोलकै फगेन्द्र सम्बाहाम्फेको दुईवटा कटेरोसमेत जलेर खरानी भएको छ ।
“मानवीय क्षति नभए पनि लाखौ रुपैयाँको धनमालको नोक्सान बेहोर्नु परेको पिर त छदैछ, तर तत्काल एकसरो लुगा फेर्न र खाना खान अत्यन्तै समस्या छ’, प्रमिलाको भनाइ छ।
सोही समयमा कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा सप्ताहव्यापी मिनिमेला तङ्सुम तङनाम त्रिशाली मेला एवं पुजाको व्यस्त कार्यक्रमले गर्दा वडा तथा स्थानीय सरकारबाट अग्निपीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन नसकिएको वडाका वडाअध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फेले बताए ।
