काठमाडौं । त्रिशुली नदी किनारमा भेटिएको गणपति डिलक्स बस उत्खनन् कार्य बन्द गरिएको छ । तनहुँको आबुखैरेनी गाउँपालिका–५, दोङद्राङबेसीस्थित त्रिशुली नदी किनारमा गत पुस २७ गते गाडीको केही भाग फेला परेपछि सुरु गरिएको बस उत्खनन् कार्य १७ दिनपछि बन्द गरिएको हो ।
२०८१ असार २८ गते चितवनको भरतपुर–२९, सिमलतालबाट पहिरोसहित दुईवटा बस त्रिशुलीमा खसेका थिए । त्यसमध्ये गणपति डिलक्स रहेको पुष्टि भएपछि उत्खनन् कार्यलाई थप तिव्रता दिइएको थियो ।
सोमबार साँझ एउटा मानव अवशेष समेत फेला परेको थियो । उक्त अवशेष थप परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । उत्खनन् गर्दा देखिएको गाडीको भाग सबै पार्टपुर्जा काटेर निकालिएकोले थप उत्खनन् कार्य बन्द गरिएको बताइएको छ ।
तनहुँको मिलन चेनपुली कम्पनी, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोलीले निरन्तर उत्खनन् गरिरहेको थियो । गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा गाडीको अवशेष फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । सोही दिनदेखि बेल्चाको प्रयोग गरी नेपाल प्रहरी र शसस्त्र प्रहरीले बालुवा उत्खनन् गर्दै अवशेष निकाल्न थालेको थियो ।
२०८१ असार २८ गते काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर भरतपुरको सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।
दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए ।