November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

आज महावीरको छब्बिस सय पच्चिसौं जयन्ति, उपराष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ । महावीरको आज दुई हजार ६२५औँ जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । जैन धर्मावलम्बीले यस पर्वलाई महत्त्वपूर्ण चाडका रूपमा मनाउने गर्दछन् ।

यसै अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थकर भगवान् महावीरको जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिका लागि शुभकामना दिएका छन् ।

“महावीरको जीवन दर्शन मानव सभ्यताको अमूल्य धरोहर हो । उनले प्रतिपादन गर्नुभएको अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्यजस्ता सिद्धान्तले समाजलाई नैतिकता, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरित गर्दछ”, उपराष्ट्रपतिले सन्देशमा भनेका छन् ।

Advertisement

लोभ–लालचबाट मुक्त भई सन्तोषपूर्ण जीवन जिउन प्रेरणा महावीरको विचारले दिने उल्लेख गर्दै उपराष्ट्रपतिले अनेकान्तवादले विभिन्न दृष्टिकोणलाई सम्मान गर्दै सहिष्णुता र सामाजिक सद्भावलाई बलियो बनाउने स्पष्ट पार्नुभएको छ । ब्रह्मचर्यले आत्मसंयम र आध्यात्मिक उन्नतिको बाटो देखाउने र यी सबै सिद्धान्तहरु आजको समाजमा उत्तिकै सान्दर्भिक रहेको उपराष्ट्रपतिको भनाइ छ ।