विराटनगर । उदयपुरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। गएराति चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारस्थित पुष्पलाल चोकमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु हो ।
प्रहरीकाअनुसार आगलागीले दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने जलेको अवस्थामा दुई जनाको शवकाे कंकाल फेला परेको छ ।
शवको पहिचान खुल्न बाँकी रहेको र सनाखत नभएसम्म शव कसको हो भन्ने पुष्टि गर्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट स्थानीय लक्ष्मी खड्का र रविन कुमार दासको घर पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेशअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।