August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

सात प्रदेशसहित विश्वका ११ मुलुकका स्रष्टाहरूद्धारा मुन्दुम पदयात्रा

भोजपुर । सरकारको एक सय पर्यटन गन्तव्यमा सुचीकृत मुन्दुम पदमार्गको बारेमा बिश्वलाई चिनाउने उद्देश्यका साथ भोजपुरमा बृहत अन्तर्राष्ट्रिय सम्मेलन भएको छ । नेपालका सातै प्रदेशका साथै बाहिरी ११ मुलुकका स्रष्ठाहरुले सम्मेलनमा सहभागिता जनाएका हुन् ।

स्रष्टाहरूले मुन्दुम पदमार्गको यात्रा गरेका थिए । मुन्दुम पदमार्ग प्रवद्र्धन सम्बन्धी विश्वव्यापी परियोजनाको प्रथम चरणको सम्मेलन र भ्रमण सम्पन्न गरिएको परियोजना निर्देशक वरिष्ठ संस्कृतिविद् डा. भक्त राईले जानकारी दिए ।

परियोजना निर्देशक वरिष्ठ संस्कृतिविद् डा. भक्त राईले भने, “मुन्दुम पदमार्गको इतिहासमा प्रथम पटक र एकै पटक नेपालका सातै प्रदेश र विश्वका ११ वटा मुलुकको स्रष्टाहरुलाई जम्मा गरेर गरिएको अन्तराष्ट्रिय स्रष्टा सम्मेलन तथा पदमार्ग भ्रमण परियोजना वास्तवमै सफल बनेको छ ।” यसले मुन्दुमलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन र प्रचारप्रसारमा पनि मद्दत गरेको छ ।

Advertisement

पदमार्गको प्रवद्र्धन गर्नका लागि गरिएको यो सम्मेलन र भ्रमण विश्वकै पहिलो भएको बताउदै वरिष्ठ संस्कृतिविद् डा. भक्त राईले पदमार्ग प्रवद्र्धनका लागि देशको सबै प्रदेश, राज्य र विश्वका एक दर्जन मुलुकका स्रष्टाहरु भेला गराएर पदमार्ग प्रवद्र्धन गरेको रेकर्ड आजसम्म नभेटिएको बताए ।

सम्मेलनमा भाग लिदै मुन्दुम भ्रमण गर्न पाएकोमा अन्तर्राष्ट्रिय श्रष्ठाहरू समेत खुशी देखिएका थिए । सम्मेलनमा सहभागि नेपाली तथा बिदेशी स्रष्टाहरुलाई पदमार्गको नाम, मुन्दुम भनेको के हो, यो क्षेत्रमा सबैभन्दा पहिले कुन जातिको बसोबास थियो, हाल कुनकुन जातिको बसोबास छ, यस क्षेत्रको हावापानी, भूगोल, वातावरण कस्तो छ, मुन्दुम पदमार्ग क्षेत्रमा कुनकुन वनस्पति, वन्यजन्तु पाइन्छलगायतको बिषय समेटिएको कार्यपत्र समेत प्रस्तुतीकरण गरेर स्पष्ट पारिएको थियो ।

यो विश्वव्यापी परियोजनामा स्वदेशी तथा विदेशी स्रष्टाहरुलाई प्रत्यक्षरूपमा भ्रमण गराएर र अन्य माध्यमबाट पनि मुन्दुम पदमार्गबारे सम्पूर्ण जानकारी प्रदान गरेपछि उनीहरुलाई मुन्दुम पदमार्गबारे गीत सृजना गर्न लगाइने छ । स्वदेशी तथा विदेशी स्रष्टाहरुले सृजना गरेको गीतलाई स्वदेशी तथा विदेशी गायक गायिकाहरुलाई गाउन लगाएर गीत समेत रेकर्ड गरिने लक्ष राखिएको छ ।

यसरी तयार भएको गीतमा जुनजुन स्रष्टाबाट सृजना भएको छ तिनै सर्जकहरुलाई अभिनय गराएर वृहत् र विस्तृत म्युजिक भिडियो निर्माण गरिनेछ । भने म्युजिक भिडियोको अतितिक्त यस विश्वव्यापी परियोजनामा मुन्दुम पदमार्ग क्षेत्रको सम्पूर्ण परिचय झल्कने गरी वृत्तचित्र र ग्रन्थ समेत निर्माण गरी ती तीनवटै सामग्रीहरुलाई विश्वका विभिन्न भाषामा अनुवाद गरी विश्वभर प्रचारप्रसार गरिने परियोजना निर्देशक बरिष्ठ संस्कृतिविद् डा. भक्त राईले दिए ।

भोजपुरमा पहिलोपटक भएको सम्मेलन र भ्रमणमा कोसी प्रदेशबाट मेघराज नेपाल, श्याम तमोट, टेक बहादुर तामाङ, लोचन भट्टराई, गीता कार्की, अशोक राई, प्रमिला राई, सीता तुम्खेवा, डा. भक्त राई, वसन्त मुकारुङ, किरण टी लिम्बू, राजु केसी, शुभ मुकारुङ, पारस मुकारुङ, रमेश कोइराला, मधेश प्रदेशबाट धीरेन्द्र प्रेमर्शी, बागमती प्रदेशबाट लक्ष्मी रुम्बा, सुस्मिता नेपाल, सविता रेग्मी, गण्डकीबाट वसन्त वित्यासी थापा, भीम मास्की, लुम्बिनी प्रदेशबाट देव राना, कर्णाली प्रदेशबाट सागर उदगम, अम्बिका गौतम र सुदूरपश्चिम प्रदेशबाट हर्क साउदलगायतका स्रष्टाहरुको सहभागिता थियो ।

नेपाल बाहिरका भारतको दार्जीलिङबाट डा. सुरेन्द्र चाम्लिङ, प्रसान्त थुलुङ, दुर्गा राई, भारतको सिक्किम राज्यबाट मोहन दुङमाली, भुटानबाट धनराज राई, दिल कुमार राई, चीनबाट लिन झोङ, रोङ झाङ, अष्ट्रेलियाबाट स्टीफन फोडेहम, टर्कीबाट जाहिद, एर्कान टेटिकसहित रसिया, सिङ्गापुर, फिलिपिन्स,जापान, कोरिया लगायतबाट स्रष्टाहरुको सहभागिता रहेको थियो ।

मुन्दुम पदमार्गलाई विश्वभर चिनाउँदै पर्यटन, स्वरोजगार र आयआर्जनमार्फत पूर्वी नेपालको मात्र होइन समग्र राष्ट्रकै विकासमा यस्ता कार्यक्रमले सहयोग गर्ने पदमार्गमा रहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।