August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

भक्तपुर । मकवानपुरमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिकामा बुधबार राति भएको दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९, भिमानका ४२ वर्षीय बोधराज बुढाथोकी र गाडीमा सवार काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनामा कार्यरत बारा जिल्लाको पचरौता नगरपालिका–७ का २१ वर्षीय इन्जिनियर सूर्य यादव रहेका छन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

पिकअप चालक बुढाथोकी नेपाली सेनाका भूतपूर्व हवल्दार रहेको प्रहरीले जनाएको छ ।

बुधबार राति करिब ११ बजे भीमफेदीस्थित माण्डु जलविद्युत् आयोजनाबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप गाडी भीमफेदी–८, बैदमारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाको उक्त पिकअप गाडी सडकबाट करिब १०० फिट तल खसेर दुर्घटना भएको थियो ।

मृतकहरूको शव बिहीबार बिहान हेटौंडा लगिएको छ ।