August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

पूर्वपरराष्ट्रमन्त्री आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । राहदानी खरिद ठेक्कामा अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पूर्वपरराष्ट्रमन्त्री राणासहित राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, विभागका सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी र विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलगायतका प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

सन् २०२५ जुन ६ मा राहदानी विभागले जर्मनीका दुई सुरक्षण मुद्रण कम्पनी भेरिडोस जीएमबीएच र म्युहलबाउरलाई ई–पासपोर्टको ठेक्का दिएको थियो । यो कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तर नियन्त्रण र प्याकेजिङको काम गर्ने जिम्मेवारी पाएको थियो । सम्झौतालगत्तै अख्तियारमा उजुरी परेको थियो ।

Advertisement

राहदानी छपाइ सम्बन्धी कार्यमा अनियमितता गरेको भन्ने कसुरमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मन कम्पनीको नेपाली प्रतिनिधि मनिन्द्र मल्ल पनि पक्राउ परिसकेका छन् ।