November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

पाँचथरको फालेलुङ गाँउपालिकाद्वारा विभिन्न आठ विधामा उत्कृष्ट १६ जना स्थानीय पुरस्कृत

पाँचथर । जिल्लाको फालेलुङ गाँउपालिकाले विभिन्न आठ विधामा उत्कृष्ट १६ जना स्थानीयलाई पुरस्कृत गरेको छ । पालिकाले आर्थिक बर्ष २०७९/०८० का उत्कृष्ट कृषक, कर्मचारी, पशुपालक, शिक्षक, विद्यार्थी, स्थानीय लघु उद्यमी, करदाता र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड स्वर्ण पदक विजेताहरुलाई पुरस्कृत गरेको हो ।

पालिकाले एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पशुपालकको रुपमा वडा नंं. ८ का चुम्लुङ खजुम, सिंहबाहिनी मावि बरभञ्ज्याङका प्रधानाध्यापक सुकबहादुर मेयोङ्बा र मोतिराम माविकी प्रधानाध्यापक गीता खत्री उत्कृष्ठ शिक्षकको रुपमा पुरस्कृत गरेको थियो ।

यस्तै, २०७९ सालको एसइईमा उत्कृष्ट अंक ल्याएका सिंहसिद्ध माविका सेक्मुहाङ केरुङ, सोही विद्यालयकी सन्जिता फागो र सिंहबाहीनी माविकी सृष्टि राई उत्कृष्ट विद्यार्थीको रुपमा पुरस्कृत बने ।

Advertisement

यसैगरी २०७९ को कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका सिँहसिद्ध माविका विरेश आङबो पुरस्कृत भए भने सर्वोत्कृष्ट करदाताको रुपमा प्राङ्बुङका दिपेन्द्र पुलामी मगरलाई पुरस्कृत गरियो । उत्कृष्ट संस्थागत करदातको रुपमा फालेलुङ ३ मा सञ्चालित प्राईम कमर्सियल बैंक लिमिटेड पुरस्कृत बन्यो ।

उत्कृष्ट कर्मचारीका रुपमा पालिकामा कार्यरत जिन्सी व्यवस्थापन तथा खरिद उपशाखा प्रमुख वीरेन्द्र बाँनिया, स्वास्थ्य चौकी प्राङबुङकी अनमि झरना राई र कार्यालय सहयोगी शुकराज राई पुरस्कृत बने । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड स्वर्ण पदक बिजेता सिंहसिद्ध माविकी चन्द्रमाया रानामगर र सरस्वती मावि ताङ्लेपाकी आशिका राई पुरस्कृत बने ।

यस्तै, उत्कृष्ट घरेलु उद्यमीको रुपमा वडा नम्बर३ भञ्ज्याङमा सञ्चालित क्लिन फालेलुङ बेकरीका प्रोप्राईटर स्मारिका थिङ तामाङ पुरस्कृत बनिन् ।

पुरस्कृतहरुलाई व्यक्तिगततर्फ जनही १० हजार र संस्थागततर्फ पाँच हजार नगद पुरस्कारसहित कदर पत्र प्रदान गरिएको गाँउपालिकाका अध्यक्ष विर बिक्रम थाम्सुहाङले जानकारी दिए ।

पुरस्कृतहरुलाई अध्यक्ष थाम्सुहाङ, उपाध्यक्ष महेन्द्रहाङ जबेगु सहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले फुलमाला र अबिर लगाएर सम्मान गरेका थिए ।