November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

पाँचथरको फालेलुङमा चौंरी महोत्सव हुने

लेखनाथ सिकारू
२०८० चैत्र २४

पाँचथर । फालेलुङ गाँउपालिका ४ चाररातेमा नयाँबर्ष २०८१ को अवसर पारेर चौँरी महोत्सव हुने भएकाे छ । महाेत्सव चैत ३० गतेदेखि तीन दिनसम्म सञ्चालन हुने छ ।
नेपाल र भारतकाे सिमावर्ति क्षेत्रमा रहेकाे साे क्षेत्रमा साताैं चाैरी महाेत्सव हुन लागेको हाे । पाँचथर सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी फालेलुङ ‘चौँरी पर्यटन महोत्सव’बारे जानकारी दिईएको हो ।

फालेलुङ गाँउपालिका मूख्य आयोजक रहेको उक्त महोत्सव सम्पन्न गर्न फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रवर्द्धन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजंघा चौँरीपालक तथा संरक्षण संस्था आयोजकको रुपमा हरेका छन् ।
महाेत्सवकाे अवसरमा ६ सय चौँरीहरु प्रदर्शन गर्ने फालेलुङ गाँउपालिकाका अध्यक्ष वीर बिक्रम थाम्सुहाङले जानकारी दिए ।

साे अवसरमा पर्यटन र सञ्चार सम्बन्धि अन्तरक्रिया गर्ने तयारी छ । झाँकी प्रदर्शन, याक नृत्य, चौँरीसँग सम्बन्धित खेल प्रदर्शन, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दोहोरी प्रतियोगिता, उत्कृष्ठ पर्यावरण संरक्षण सम्मान कार्यक्रम र साहसिक फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने तयारी छ ।

Advertisement

पूर्वी नेपालको फालेलुङ गाँउपालिका र भारतको वेष्ट बंगालसहित सिक्किमको सिमानामा रहेको चाररातेमा महोत्सव गर्न लागिएको हो । चौँरी संस्कृतिलाई संरक्षण गर्न महोत्सवको आयोजना गरिएको थाम्सुहाङले बताए । ‘चौँरी उच्च पहाडको सौन्दर्य मात्र नभएर सम्पती पनि हो,’ थाम्सुहाङले भने ‘चौँरीको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व ठानेर महोत्सवको तयारी गरिएको हो ।’

थाम्सुहाङले विश्वमै लोपोन्मुख चौँरी संस्कृतिको जगेर्ना गर्ने, उच्च पहाडी क्षेत्रको पर्यावरण सन्तुलन कायम गर्ने, विश्वमै लोपोन्मुख रेडपाण्डा र जैविक विविधताको संरक्षण गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको बताए । 

महोत्सवमा चौँरी र चौँरीजन्य उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शन, याक नृत्य, चौँरीसँग सम्बन्धित खेल प्रदर्शन, लोक दोहोरी प्रतियोगिता, साहसिक फुटबल प्रतियोगिता लगायतको कार्यक्रम हुने आयोजकले जनाएको छ । 
फालेलुङ गाउँपालिको आर्थिक सहयोगमा हुने महोत्सवमा चौँरी तथा याकको प्रजातिहरूको संरक्षण र संवद्र्धनमा सहयोग पुग्ने पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ । 

महोत्सवलाई आकर्षण गर्न फालेलुङ क्षेत्रमा पाइने जडीबुटीहरू , स्थानीय संस्कार संस्कृति झल्कने परिकारहरू, भेडाको उनबाट निर्मित सामाग्रीहरूको बिक्री, गोठस्टेको अनुभव ,साँस्कृतिक कार्यक्रम लगायतको आकर्षण रहने आयोजकले जनाएको  छ । 

यस क्षेत्रमा दर्जनौ चौँरी गोठहरु छन् । महोत्सवले यहाँको पर्यटनको सम्भावनालाई माथि उठाउने बिश्वास गरिएको छ । बिगतका महोत्सवहरुकै कारण यस क्षेत्रमा पर्यटकहरुको चाप बढेको आयोजक संस्था दीप ज्योति क्बलका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताए । मानव वस्ति भन्दा माथि जंगली क्षेत्रमा आयोजना गरिने माहोत्सवमा आन्तरिक र बाह्य गरी १० हजार पर्यटकलाई सहभागि गराउने आयोजकको तयारी छ ।

पाँचथरसहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा काठमाण्डौ, भारतको सिक्किम र दार्जिलिङका पर्यटन व्यवसायी र सर्वसाधारणले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको हो । महोत्सवमा चौरीको दुधबाट बनाइएका परिकारहरु, चौंरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाईने जडिबुटि तथा कृषिजन्य बस्तुको स्टलहरु राख्ने तयारी छ । नौ लाखको अनुमानित लागतमा महोत्सव सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।