काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने भएको हो।
स्रोतका अनुसार भेटपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ भने प्रधानमन्त्री मोदीले आफ्ना समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्री देउवा र भारतका मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेछ।
त्यस्तै, वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ।