भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने बताए । सोमबार रफ्त सञ्चार क्लवको १३औं वार्षिकोत्सवको अवसर पारेर भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने बताएका हुन् ।
काँग्रेसले यदि राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरु केही पनि नहुने उनको भनाइ थियो । उनले निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणा पत्र भन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दलहरुलाई नरहेको पनि बताए ।
सत्तारुढ गठबन्धन प्रजातान्त्रिक नभएको भन्दै अध्यक्ष बिजुक्छेले भने, ‘यो राष्ट्रपतिको लोभले गर्दा सायद नेपाली काँग्रेसले त्यो बाटो अपनाएको हो कि ? साँचो यही हो भने त्यो जस्तो नराम्रो राजनीतिक दृष्टिकोण अरु छैन । पदको निम्ति होइन, सिद्धान्तको निम्ति हो, नीतिको निम्ति हो । र, कार्यक्रम घोषणा पत्र हामीले निर्वाचनको बेलामा पाउँछौ नि । त्यो भन्दा तलमाथि जाने गर्नु हुँदैन ।’
अध्यक्ष बिजुक्छेले चुनाव अघि र पछि पनि साझा घोषणा पत्र अनुसार अघि बढ्न नसक्ने गरी गरिएको राजनीतिक गठबन्धनको कुनै अर्थ नहुने दावी गरे ।