काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।
चितवन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उम्मेदवार छन् । अन्य १९ जना उम्मेदवार पनि चुनावी मैदानमा छन् ।
काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन् । रास्वपाका उम्मेदवार रवि लामिछानेको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका छन् ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ उपनिर्वाचन गरिएको हो ।
लाख २४ हजार ६९५ मतदाता रहेको यस क्षेत्रमा ४३ मतदानस्थल र १३८ केन्द्र छन् ।
उपनिर्वाचन हुने स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले आइतबार अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।