काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सात सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका हुन् ।
महामन्त्री शर्माले भने, ‘कुनै विपक्षी पार्टीका नेतालाई तान्ने लक्ष्यसहित नभई भ्रष्टाचारको स्पष्ट छानबिन गरौं । भ्रष्टाचारको स्पष्ट छानबिन गरेर सबै फाइल खोलौँ ।’
शर्माले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएको प्रति आपत्ति पनि जनाए । उनले भने, ‘केही दिनअघि सम्माननीय पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले यो रोष्टममा उभिएर नक्कली भुटानी शरणार्थीको प्रकरणमा उभिएर बोल्दै गर्दा राख्नुभएका अन्य विषयमा म सम्मानपूर्वक समर्थन गर्दछु । दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा पनि त्यो आशङ्कामा पनि राज्यले गम्भीरतापूर्वक ध्यान देला नै ।’
शर्माले दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा आफूले समर्थन गर्न सके पनि निर्दोषलाई फसाइँदैछ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्नसक्ने बताए । ‘सँगौ म निर्दोष फसाउने प्रयास भइरहेको भन्ने वाक्य उल्लेख गर्नुभयो । अन्यत्र कहीँ भन्नुभयो रे होइन, यही रोष्टममा उभिएर भन्नुभयो । को दोषी को निर्दोषी नेपाल प्रहरीले छानबिन गरिरहेको छ । हामी न्यायाधीश होइनौँ सभामुख महोदय, यहाँबाट फैसला सुनाउनका लागि । यो समय हामीले निर्दोष कोही नफसुन्, दोषी कोही नछुट्न् । यो बेला सरकारलाई साथ दिने समय हो, यो बेला सरकार बाहिरको दलले पनि सरकारलाई साथ दिने समय हो, समर्थन फिर्ता लिने बेला होइन । रोष्टममा उभिएर मुद्दामा परेका कसैलाई पनि न विगतमा हामीले निर्दोष भन्यौँ, न आज भन्छौँ, केवल यति भन्छौँ, अनुसन्धान र न्यायिक प्रक्रियामा कसैले प्रभावित गर्ने गरी बोल्नु हुँदैन, देश हेरिरहेको छ ।’, शर्माले भने ।