August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

नियमित महाधिवेशन प्रक्रियालाई निरन्तरता दिन जनसम्पर्क समिति सभापतिहरूको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जनसम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन् । संयुक्त अपिल जारी गर्दै समितिका सभापतिहरूले विधानअनुसार १५औं नियमित महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला त्यसैलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।

शनिबार १७ देशका जनसम्पर्क समितिका सभापतिहरूद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसको आन्तरिक जीवनमा हामी अहिले अप्ठ्यारो परिस्थितिमा छौं । मुलुकमा फागुन २१ गते निर्वाचन घोषणा भैसकेको अवस्था छ । यस्तो बेला तपाईं हाम्रो आन्तरिक बेमेललाई थाँति राखेर मुलुक र पार्टी बलियो बनाउने दिशामा हामी अग्रसर हुनुपर्छ ।’

उनीहरूले अझ बढी संगठित, एकताबद्ध र आपसी भाइचारा तथा हार्दिकता बढाएर अघि बढ्नुपर्ने समय भएकाले यस मर्मलाई बुझ्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

Advertisement

‘आम निर्वाचनको प्रक्रिया सुरु भैसकेको वर्तमान अवस्थामा एकढीक्का भएर हामी चुनावी संग्राममा होमिनु पर्दछ’, विज्ञप्तिमा थप उल्लेख गरिएको छ’, ‘हामी अहिले १५औं महाधिवेशनको प्रक्रियामा जुटेका छौं। आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनले पार्टीलाई नयाँ जीवन र ऊर्जा प्रदान गर्नेछ। यसका लागि हालै मात्र नेपाली जनसम्पर्क समितिका कतिपय देशबाट नयाँ महाधिवेशन प्रतिनिधिहरू समेत चयन भैसक्नु भएको छ ।’

पार्टीको पौष १८ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको सम्मान गर्दै अघि बढ्ने प्रतिवद्धतासमेत उनीहरूले जाहेर गरेका छन् ।

नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई संयमित भएर जिम्मेवारपूर्वक आफ्नो भूमिका निर्वाह गर्न र एक अर्काबीचको सम्मान भावलाई स्वीकार गरी अघि बढ्नसमेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।