काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चुनावी घोषणापत्र (वाचापत्र) सार्वजनिक गरेका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनले सोमबार मुख्य ९ वटा प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक गरेका हुन् ।
वाचापत्रमा ‘थिति बसाल्ने संकल्प’ कार्यान्वयनको नेतृत्व लिने, नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यावहारिक रूपमा पु¥याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उल्लेख गरेका छन् ।
यस्तै, उनको वाचापत्रमा राष्ट्रहितविपरीत कुनै पनि सम्झौता नगर्ने, सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने भनिएको छ । विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिने, झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्ने,राजनीतिलाई पेसा होइन, सेवा बनाउने उल्लेख छ ।
मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रूपान्तरण गर्ने र राजनीति सेवा, इमानदारिता र परिणाममा आधारित हुने उनको वाचापत्रमा दाबी गरिएको छ ।
उनले निर्वाचन क्षेत्रकेन्द्रित शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका, पर्यटन तथा उद्योग, खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृति क्षेत्रमा विभिन्न योजना सार्वजनिक गरेका छन् ।