काठमाडौं । नेविसंघले कार्यगत स्वायत्ततासम्बन्धी पारित गरी अब नेपाली कांग्रेसको भातृसंस्थाको रुपमा नरहने निर्णय गरेको छ ।
नेविसंघको शुक्रबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सम्पन्न सिनेट बैठकले नेविसंघलाई अब पार्टीको भ्रातृसंस्थाका रुपमा नभई विद्यार्थीहरुको हिताग्रही संस्थाका रुपमा रहने निर्णय गरेको हो ।
संघका अध्यक्ष दुजाङ शेर्पाले नेपाली कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्था रहेपनि पार्टीको प्रत्यक्ष प्रभाव र प्रणालीभित्र नरहने गरी नेविसंघले कार्यगत स्वायत्ततासम्बन्धी प्रस्ताव पारित गरेको सञ्चारकर्मीलाई बताएका छन् । उनका अनुसार सिनेट बैठकको निर्णयले नेविसंघलाई स्वायत्त र स्वचालित संस्थाका रुपमा स्थापित गरेको उनले बताए ।
पार्टीको भ्रातृसंस्थाका रुपमा रहँदा विद्यार्थी संगठन र आन्दोलनप्रति नै प्रश्न उठ्न थालेको भन्दै लोकतान्त्रिक मूल्य मान्यताप्रति ऐक्यवद्ध रहँदै विद्यार्थीहरुको विवेकअनुसार चल्ने संस्थाका रुपमा नेविसंघलाई अगाडि बढाउन खोजिएको उनले बताए ।
संघको १२औं महाधिवेशन भने आगामी ०८३ को बैशाख २० र २१ गते गर्ने प्रस्ताव गरिएको छ ।